Friday , 27 April 2018
News update
Home >> Features >> ‘द म्यान फ्रम काठमाण्डू’को नेपालको काम सकियो बाँकी लस एजन्लसमा हुँदै

‘द म्यान फ्रम काठमाण्डू’को नेपालको काम सकियो बाँकी लस एजन्लसमा हुँदै

‘द म्यान फ्रम काठमाण्डू’को नेपाल छायांकन समाप्त भएको छ । बाँकी छायांकन हलिउड नगरी लस एन्जल्समा हुुने विहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नेपाल इन्ड कल्यापको अवसरमा निर्माता संस्था ट्रीसिटी पिक्चर्सले मिडियासामु सिनेमाबारे अवगत गरायो । क्यूएफएक्स सिनेमाज् प्रमुख समेत रहेका निर्माता नकिम उद्दिनले बाँकी विश्वलाई नेपाली कथा सुनाउन सिनेमा प्रभावकारी हुने धारणा राखे ।

पाँच करोड बजेट बताइएको फिल्ममा संलग्न विदेशी प्राविधिकबाट स्थानिय प्राविधिकले सीप सिकेको र मुलुकको प्रचारप्रसार समेत हुने धारणा उद्दिनको थियो । कागबेनी र सानो संसारले थालेको डिजिटल यात्रा द म्यान फ्रम काठमाण्डूसम्म आइपुग्दा नेपाली सिनेमाले ऐतिहासिक फड्को मारेको उनले बताए ।

भारतीय, पाकिस्तानी र हलिउड कम्पनीले समेत नेपालको पहिलो अंग्रेजी फिल्मको वितरणमा चासो व्यक्त गरेको उनले जनाए । ‘भारतमा गुल्सन ग्रोवर र पाकिस्तानमा हमिद शेखमार्फत त्यहाँका कम्पनीले चासो देखाएका छन्’ उनले भने, ‘हलिउडमै सुटिङ र पोस्टप्रोडक्सन हुने भएकाले त्यहाँका कम्पनीले समेत रुचि देखाएका छन् ।’

निर्देशक पेमा धोन्डुपले उद्दिनले निर्माण गरेको कागबेनी हेरेपछि टीमअप गर्ने रुचि पलाएको बताए । तिब्बती शरणार्थी अभिभावकको रुपमा जोमसोममा हुर्किएका पेमाले त्यहाँ छँदै आफूमा कथाको विकास भएको अनुभव सुनाए ।

फिल्मले अतिवादी इस्लामिक सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा भन्छ । नेपाल आइपुग्दा उसबाट हटेको उक्त अतिवादी सोचको कथा द म्यान फ्रम काठमाण्डू हो । ‘खासगरि, डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि सिंगो विश्वमा फैलिएको अतिवाद र समकालिन राजनीतिको कथा यसले भन्छ र सान्दर्भिक पनि छ’ निर्देशक धोन्डुपले भने, ‘यसले धार्मिक सहिष्णुता, धार्मिक समानताको समर्थन गर्दै अतिवादको विरोध गर्छ ।’

‘सीएनएनमा एउटा आर्टिकल पढेपछि कथा जन्मिएको हो । यसबारे दुईवर्ष रिचर्स गरेँ । अनि त्यसमा नेपाली कला, संस्कृतिलाई मिश्रण गरेर फिल्मको कथा बुनिएको हो’ धोन्डुपले भने । निर्माता समेत रहेका उद्दिनले पछिल्लो समय नेपाली फिल्मको ब्यापारमा देखिएको बढोत्तरीले लगानीका लागि आफूहरुलाई हौसला मिलेको बताए ।

फिल्ममा अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नीर शाह, आना शर्मा, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ ।

कार्लोस मेडिनाको छायांकन, एरिक कारखेकको सम्पादन, हरि पिलाइको ध्वनी, जोसे म्यानुअल स्टन्ट कोरियोग्राफी छ । निर्माता उद्दिनका अनुसार चाँडै फिल्मको नेपाल रिलिज मिति घोषणा गरिनेछ । विदेशी भाषामा स्वरांकन गरेर विदेशमा रिलिज गर्ने तयारीमा निर्माता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*