Friday , 27 April 2018
News update
Home >> Features >> ‘जात मिल्दैन धर्म मिल्दैन, हेर त तिम्रो मेरो मन कति मिलेको : ‘श्रीमान वीरबहादुर’(फोटो कथा )

‘जात मिल्दैन धर्म मिल्दैन, हेर त तिम्रो मेरो मन कति मिलेको : ‘श्रीमान वीरबहादुर’(फोटो कथा )

जात मिल्दैन धर्म मिल्दैन, हेर त तिम्रो मेरो मन कति मिलेको ।’ नाटक ‘श्रीमान वीरबहादुर’मा गुञ्जिएका यी शव्दहरुले स्मृतिमा झट्ट एउटा सामाजिक चित्र बन्न पुग्छ ।

मदन पुरस्कार प्राप्त रामलाल जोशीको कथासंग्रह ‘ऐना’ भित्रको कथा ‘श्रीमान वीरबहादुर’लाई कर्मी नाट्य समुह चितवनले पहिलो पटक चितवन जिल्लामा नाट्य रुपान्तरण गरी प्रस्तुत गरेको हो ।

पौराणिक कथानुशार परिबन्धमा परेकी महिलाहरुलाई पुज्ने आजको समाजले त्यस्तै परिबन्धमा परेकी महिलाहरुको वास्तविकतालाई किन स्वीकार्न सक्दैन ? । नाटक यही सेरोफेरोमा केन्द्रित छ ।राजनसँग प्रेममा परेपनि प्रेमलता ठकुरी गर्भवती हुँदा ऊ बेपत्ता हुन्छ । बच्चा जन्मेपछि कुमारी आमा भनेर समाजले उनलाई तिरस्कार गर्छ । त्यती मात्रै होईन, थारुको छोरासँग विहे गरेको भनेर अर्काे पिडा सहनुपर्छ । ठुलाठुला शिर्षकमा समाचार छापिंदा ती नारी विक्षिप्त हुन्छिन् ।

कलाकार तथा निर्देशक भिष्मराज जोशीले उक्त कथााई नाट्य रुपान्तरण गरेका हुन् । सातवटा नाटक खेलिसकेका कलाकार जोशीले हालै प्रदर्शनमा आउन लागेको चलचित्र फिर्केमा समेत अभिनय गरेका छन् । यो उनको पहिलो नाट्य निर्देशन हो ।‘अहिलेको समयमा पनि विभिन्न समस्यामा परेका महिलाहरुलाई हेयभावको दृष्टिकोण यथावत छ, त्यसैले यो नाटक छनोट गरेको हो ।’ जोशीले थप्नुभयो,‘नाटकमा सुदुर पश्चिमको माटो मिसिएको पाउँछु, देखिरहेको घटना र पात्र छ ।’

चितवनको नारायणी कलामन्दिरमा बुधबारदेखि १ र ४ बजे दैनिक २ पटक प्रदर्शन शुरु भएको नाटक चारदिनसम्म छल्ने छ । पश्चिम नेपालको कैलालीका विरबहादुर थारुको कथालाई नाटकमा उनेको छ ।गरिव परिवारका विरबहादुर रिक्सा चलाउने, ज्यालामजदुरी गर्ने काम गर्छन् । सम्भ्रान्त ठकुरी परिवारकी प्रेमलता वीचको नाटकिय सम्बन्ध हुन पुगेको छ । अन्तरजातिय भएपनि एकअर्कामा दुखसुख साट्ने उनीहरुको प्रेमिल जोडी लोभिंदो छ ।

तैपनि समाजले स्वीकार्न सकिरहेको छैन । सामाजिक कु–दृष्टिकोणलाई नाटकले जीवन्तता दिन खोजेको छ ।कथानुसार राजनसँग प्रेम सम्बन्धमा परेकी प्रेमलताको पेटमा गर्भ रहन्छ । उनी प्रसव पिडामा हुँदा राजन बेपत्ता हुन्छ । छिमेकी वीरबहादुरले उनलाई अस्पताल लान्छ । बच्चा जन्मिएपछि अस्पताले श्रीमान नै सोचेर बाबुको नाम विरबहादुर र आमाको नाम प्रेमलता राखिदिएको हुन्छ । प्रेमलता छक्क पर्छिन् । पत्रकारहरुले वास्तविकता नबुझी कुमारी आमाको बच्चा भनेर ठुला हेडलाईनमा समाचार छापेपछि उनीमा घृणा जाग्छ ।

समाचार संकलनमा पुगेका पत्रकारलाई प्रेमलता आक्रोस पोख्छीन् ‘पटकपटक म तपाईको समाचारको हेडलाईन बन्न सक्तिन ।’ उनको वास्तविकता थाहा पाएपछि समाचार लेख्न पुगेको पत्रकार आफैं हिनताबोध हुँदै फर्कन्छ ।

‘धर्तिको कुनै कुनामा फिरफिराईरहेको सेतो कागजमा कुनै दिन मेरो कथा भेटिन सक्छ, तर आमाको कथा कुनै कागजमा लेख्न सकिंदैन, आँशुको मसिले हृदयको पानामा मात्रै लेख्न सकिन्छ ।’ पत्रकारको भनाईसँगै नाटकको अन्त्य हुन्छ । नाटक ५० मिनेटको छ ।बरिष्ठ कलाकार ऋद्धिचरण श्रेष्ठ सुत्रधारबाट नाटकको कथा बगाउनु साह्रै राम्रो हो भन्नुहुन्छ । पौराणिक र आधुनिकतालाई जोडेर जीवन्त बनाउनु प्रशंसनिय रहेको उहाँ बताउनुहुन्छ । नाटकमा पौराणिक कथा अनुसार कुन्ति र सत्यवतीको कथासँग आधुनिक सत्य कथा जोडिएको छ ।

त्यो बेला यस्तै पिडा खेप्न विवस महिलालाई आजसम्म पुज्ने समाजले परिबन्धमा परेर पिडा खेपिरहेका नारीहरु तिरस्किृत किन हुन्छन् ? समाजको यही नकारात्मक दृष्टिकोण नाटककी मुख्यपात्र प्रेमलताबाट बारबार बोलिरहेको हुन्छ ।‘ठकुरीकी छोरीले थारुलाई पोई बनाई भनेर समाचार नबनाईदेउ, तिम्रो जागिर भन्दा मेरो अधिकार ठुलो हो ।’ समाचार लेख्न आएको पत्रकारसँग प्रेमलताले गरेको सम्बाद मर्मस्पर्शी छ । अनि पत्रकारको हेर्ने दृष्टिकोण नै परिवर्तन भएको छ ।

गाउँका युवाहरुले तिहारको देउसीबाट संकलन गरेको रु ५० हजार रकमबाट नाटकको जग तयार भएको हो । कर्मी नाट्य समुहका अध्यक्ष मुकुन्द खलपात्र कार्तिकदेखिको पुरा भएको उल्लेख गर्दै सबैको हार्दिकतालाई धन्यवाद दिनुहुन्छ । ठुलो संघर्ष र आर्थिक अभावका वीच नाटक मञ्चन भएको भन्दै उहाँले आएको आम्दानी थियटरका लागि जग हुने बताउनुहुन्छ ।

चितवनको पछिल्लो सफल नाटक ‘सकस’ भन्दा प्रस्तुतिकरणमा फरक रहनु यसको विशेषता हो । तीन घण्टामै नाट्य रुपान्तरण गर्न सफल बनेका निर्देशक जोशीले ३० पटक संसोधन गरेको र १७ जना कलाकार परिवर्तन गरेको अनुभव सुनाए ।कतिपय कलाकारले धोका दिए । यसअघि नारायणी कलामन्दिरले नाटक गर्ने भनेपनि सफल नभएकाले कतिपयले विस्वास नै गरेनन् । वीरबहादुर बनेर जीवन्त अभिनय गरेका कलाकार सुरेश जिशी, राजधानी र मोफसलमा कला प्रस्तुत गर्नु उस्तैउस्तै भएपनि प्रविधिमा समस्या हुने उल्लेख गर्नुहुन्छ ।

उनी शिल्पी थिएटरका नाट्य कलाकार समेत हुन् । सुरेश जिशी र कृपा अधिकारी मुख्य भूमिकामा रहेको नाटकमा अन्जान ढुंगानाले जोड्ने काम गरेका छन् । अन्य कलाकारहरुमा भिष्म जोशी, विवेक तिवारी, सुमित आचार्य, अस्मिता थापा लगायत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*