Sunday , 15 July 2018
News update
Home >> Features >> चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघबीच सेयर बाँडफाँडमा सहमति

चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघबीच सेयर बाँडफाँडमा सहमति

आन्दोलनरत चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघबीच सेयर बाँडफाँडमा सहमति जुटेको छ । पटकपटकको वार्ता र छलफलपछि आइतबारअन्तत हलवालासँग सम्झौता गरेर आन्दोलन फिर्ता लिएका छन् ।

सहमतिअनुसार अब पहिलो साता निर्माता र प्रदर्शकले ग्रस कलेक्सनको ५०–५० प्रतिशत सेयर बाँडफाँड गर्नेछन् । “अब चलचित्र प्रदर्शनमा आएको पहिलो साता निर्माता र प्रदर्शकले ५०–५० प्रतिशत सेयर बाँडफाँड गर्ने हामीबीच सहमति भएको छ,” चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले भने । निर्माता संघले जेठ २ गतेसम्म आफूले अघि सारेका माग पूरा नभए ४ गतेबाट हलमा कुनै पनि चलचित्र प्रदर्शन नगर्ने चेतावनी दिएको थियो ।

अधिकारीका अनुसार दोस्रो सातामा निर्माताले ग्रस कलेक्सनको ४५ र प्रदर्शकले ५५ प्रतिशत, तेस्रो सातामा निर्माताले ४० र प्रदर्शकले ६० प्रतिशत सेयर पाउनेछन् भने चौथो हप्तादेखि निर्माताले ३५ प्रतिशत र प्रदर्शकले ६५ प्रतिशत सेयर पाउनेछन् ।

सिंगल थिएटरमा भने प्रदर्शनको पहिलो सातादेखि अन्तिम सातासम्म दुवै पक्षले ५०–५० प्रतिशत सेयर पाउनेछन् । “सिंगल थिएटरमा फष्ट टु इन्ड दुवै पक्षले ५०–५० प्रतिशत सेयर पाउने सहमति भएको छ,” अध्यक्ष अधिकारीले भने । सिंगल थिएटरमा यसअघि पनि सेयर निर्माता र प्रदर्शक दुवै पक्षले ५०–५० प्रतिशत नै सेयर बाँडफाँड गर्दै आएका थिए ।

यसअघि निर्माताले प्रदर्शनको पहिलो साता ५० प्रतिशत पाए पनि दोस्रो साता ४२.५ प्रतिशत, तेस्रो साता ३७ प्रतिशत र चौथो साताबाट ३० प्रतिशत सेयर पाउँदै आएका थिए । यस्तै आइतबार भएको सहमतिअनुसार निर्माता संघ र चलचित्र संघबीच दुई सातासम्म हलमा निःशुल्क ट्रेलर देखाउने, पोस्टर, ब्यानर र स्ट्यान्डी राख्ने पनि सहमति भएको छ ।

निर्माता संघले २०६० साउन २३ गते चलचित्र संघसँग भएको सम्झौता पुनरावलोकन गरेको हो । “अहिले भएको सहमति पनि दुई वर्षसम्मका लागि मात्रै हो,” निर्माता संघका अध्यक्ष अधिकारीले भने, “दुई वर्षपछि पुनः अहिले भएको सहमति पुनरावलोकन गरिनेछ । दिनदिनै भित्रिने नयाँ प्रविधि र त्यसको प्रयोग गर्दै जाने हो । त्यसलाई हामी सबैले आत्मसात गर्दै जानुपर्छ ।”

सानो बजारमा ठूलो लगानी गरेर चलचित्र बनाउनुपर्ने तर चलचित्र प्रदर्शकहरुले उचित बाँडफाँड नहुँदा निर्माताहरु मारमा परेको गुनासो गर्दै आएका थिए ।
राम्रो चलचित्र बनाए पनि बजेट अभावमा पर्याप्त प्रचार गर्न नसक्दा चलचित्रहरु इनिसियल नचल्ने र दोस्रो–तेस्रो हप्ता चल्दा निर्मातालाई खासै फाइदा नहुने गरेको निर्माताहरुको गुनासो थियो ।

विशेगागरी ‘माउथ पब्लिसिटी’ बाट चल्ने चलचित्रहरु यसको मारमा पर्दै आएका थिए ।यसअघि निर्माताले दोस्रो र तेस्रो साता क्रमशः ४२.५ र ३७ प्रतिशत सेयर पाउँथे । अब नयाँ सहमतिअनुसार ४५ र ४० प्रतिशत पाउनेछन् ।

यस्तै, हलहरुले नेपाली चलचित्रको ट्रेलरसमेत बिना पैसा नबजाउने गरेको निर्माताहरुको गुनासो थियो । हलहरुले हिन्दी र अंग्रेजी चलचित्रको ट्रेलर बिनापैसा महिनौं अगाडिदेखि हलमा बजाए पनि नेपाली चलचित्रको भने नबजाएको निर्माताहरुको भनाइ रहँदै आएको थियो । प्रत्येक शोमा लाइसेन्स चार्ज भनेर चार सय लिने हलहरुले कर्मचारी र आफन्तका लागि भनेर दुई सयभन्दा धेरै पास लिने गरेको निर्माताहरु गुनासो गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*