Sunday , 15 July 2018
News update
Home >> PhotoGallery

PhotoGallery

चलचित्र ‘बाबु कान्छा’ युनिट चलचित्रको प्रचार प्रसारको लागि मोफसलमा

असार २९ गते प्रदर्शनमा आउने लागेको चलचित्र ‘बाबु कान्छा’ को यती बेला धमाधम प्रचार प्रसार भईरहेको छ । गीत संगीत र ट्रेलरबाट नै चर्चा पाएको ‘बाबु कान्छा’ टिम प्रचार प्रसारको लागि आज चितवन आईपुगेको छ । यस अघि शुक्रबार बिहान हेटौडाका पत्रकार माझ चलचित्रको बारेमा जानकारी दिदै चलचित्र युनिटले हेटौडामा पनि पत्रकार भेटघाट आयोजना गरेको थियो ।

यसै क्रममा आजै चलचित्र बारे जानकारी गराउने उद्देश्यले चितवनको नारायणगढमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । पत्रकार सम्मेलनमा चलचित्रका नायक सलोन बस्नेत, नायिका करिश्मा श्रेष्ठ, सह निर्माता सुरज घिमिरे र कार्यकारी निर्माता रबी अधिकारीको उपस्थिती रहेको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै नायक सलोन बस्नेतले ‘बाबु कान्छा’ स-परिवार बसेर हेर्न सकिने चलचित्र बनेको बताए । चलचित्रमा आफु लगायत सबै कलाकारले निकै मेहेनतको साथ काम गरेकोले ‘बाबु कान्छा’ राम्रो बनेको सलोनको दाबी रहेको छ । यस्तै सलोनले चलचित्र चितवन, बिरगंज, लम्जुङ घले गाउ र काठमाण्डौमा छायांकन गरिएको पनि बताए । चलचित्रका निर्माता, निर्देशक सलोनका बुवा शोभित बस्नेत भने चलचित्रको काममा ब्यस्त रहेकोले चितवन आउन नपाएकोमा सलोनले पत्रकारहरु सँग माफि मागेका छन् । चलचित्रको टिजर र ट्रेलरमा १७ बर्ष अघीको सलोन बस्नेतलाई देखाईएको कारण पनि उनले खुलाएका छन् ।

सानोमा आफुले धेरै चलचित्रमा बाल कलाकारको भूमिका निर्वाह गरेको र त्यही मध्यको ‘नेपाली बाबु’ को बाल कलाकारको छोटो भूमिका राखिएको सलोनले बताएका छन् । ‘बाल कलाकारको रुपमा खेल्दाको सलोन र अहिलेको सलोन एउटै भएकोले कसैलाई नझुक्किउन भन्न त्यो छोटो अंश ‘बाबु कान्छा’ मा राखिएको हो – सलोनले भने । यस्तै सलोनले चलचित्रमा ७० लाखको लगानी लागेको पनि बताएका छन् ।

उता चलचित्रकी नायिका करिश्मा श्रेष्ठले चलचित्रमा आफ्नो भूमिका एक सामान्य युवतिको रहेको बताईन । ‘चलचित्रमा म एक सामान्य युवतिको रुपमा प्रस्तुत भएकी छु, जो जीवनमा केही गर्न चाहन्छिन’ – करिश्माले भनिन् । चलचित्र ‘लभ सब’ बाट रजट पतमा भित्रिएकी करिश्माको लागि ‘बाबु कान्छा’ दोस्रो चलचित्र हो । ‘लभ सब’ मा संयम पुरिको अपोजिटमा देखिएकी करिश्मा ‘बाबु कान्छा’ मा भने आफ्नो रियल जोडी सलोन बस्नेतको अपोजित रोलमा देखिएकी छिन् । पहिलो चलचित्र पछी लामो समय सम्म चलचित्रमा नदेखिएकी करिश्माले यो चलचित्रमा भने निर्माता तथा निर्देशक शोभित बस्नेतले अफर गरेको कारण काम गरेको प्रष्ट पारीन ।

चलचित्रका सह निर्माता सरोज घिमिरेले ‘बाबु कान्छा’ राम्रो बनेको र दर्शकहरुले मन पराईदिनुहुनेमा आफु विश्वस्त रहेको बताए । चलचित्रका कार्यकारी निर्माता रबी अधिकारीले मल्टीप्लेक्समा चलचित्रले राम्रो ब्यापार गर्ने बताए । साथै उनले व्यस्तताका कारण अन्य कलाकारहरु चितवन आउन नपाएको समेत जानकारी गराएका छन् ।

चलचित्र ए मेरो हजुर २ बाट निकै तारिफ पाएका सलोन बस्नेतको मुख्य भूमिका रहेको बाबु कान्छामा नायिका करिष्मा श्रेष्ठ रहेकी छिन् । शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको बाबु कान्छामा सलोन बस्नेत नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संग्रौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, बिक्रम कंडेल लगायतको अभिनय रहेको छ । यस चलचित्रबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछन्।

सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको बाबु कान्छामा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह–निर्माताको रुपमा रहेका छन्। चलचित्रमा बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको छ भने रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ। चलचित्रमा अस्ट महर्जनको एक्शन, गौतम राज खड्काको सम्पादन, टंक बुढाथोकी संगीत रहेको छ ।

चलचित्र पत्रकार संघ मकवानपुरले दुई पत्रकार र दुई कलाकारलाई पुरस्कृत

चलचित्र पत्रकारिता दिवसको अबसरमा चलचित्र पत्रकार संघ मकवानपुरले सोमबार हेटौंडामा दुई पत्रकार र दुई कलाकारलाई पुरस्कृत गरेको छ ।संघले ११ हजार १ सय ११ रुपैयासहितको राष्ट्रिय चलचित्र पत्रकारीता सम्मान–२०७५ बाट राजधानी दैनिकका बरिष्ट उप सम्पादक डब्बु क्षत्रीलाई सम्मान गरियो । बिगत २६ वर्षदेखि चलचित्र पत्रकारितामा योगदान पुर्याएको भन्दै क्षत्रीलाई सम्मान गरिएको कार्यक्रममा बताईयो ।

यस्तै मकवानपुरबाट लामो समय चलचित्र पत्रकारितामा योगदान पुर्याएका जनता टेलिभिजनका पत्रकार रामकुमार एलनलाई पाँच हजार पाँच सय ५५ रुपैयाँ सहितको यो बर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट सम्मानित गरियो ।यस्तै मकवानपुरबाट राष्ट्रिय चलचित्र बृत्तमा निरन्तर योगदान पुर्याएको ठहर गर्दै सोही कार्यक्रममा चलचित्र कलाकारिता सम्मान २०७५बाट अभिनेत्री निता ढुंगाना र कलाकार शुसान्त कुमार श्रेष्ठलाई सम्मान गरिएको छ ।

नेपाली काँग्रेस मकवानपुरका सभापति एबम् प्रदेश ३ संसदीय दलका नेता ईन्द्र बहादुर बानियाँ, नेपाल चलचित्र संघका उपाध्यक्ष नरेन्द्र महर्जन, अग्रज पत्रकार शान्तिप्रिय, चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतमले संघका तर्फबाट सो सम्मान प्रदान गरेका थिए ।प्रदेश ३ संसदीय दलका नेता बानियाँले कार्यक्रमलाई सम्बोधन गर्दै अब नेपालमा क्रान्तीको होईन शान्तिको बिषयमा चलचित्र बनाउनु पर्नेमा बताए । कार्यक्रमका प्रमुख अतिथी बानियाले नेपालमा परिस्थिति अनुसारका चलचित्रहरु निर्माण हुनु पर्नेमा जोड दिए ।

मकवानपुर चलचित्रकर्मीहरुको हब बन्दै गएको बताउदै नेता बानियाले यहाका चलचित्रकर्मीहरुको सकृयता प्रति खुशी व्यक्त गरे । चलचित्र क्षेत्रका लागी आफुले सक्दो सहयोग गर्ने पनि उनले बताए ।चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा कलाकार तथा पत्रकारलाई प्रोत्साहित गर्न ६ वर्षदेखि सम्मान प्रदान गर्दै आएको बताए ।
चलचित्र पत्रकार संघका निबर्तामान अध्यक्ष शान्तिप्रियले १९ वर्ष अघि स्थापना भएको चलचित्र पत्रकार संघले सिनेपत्रकारलाई संगठित गर्दै चलचित्रको विकास र विस्तारमा साथ दिएको भनाई सो कार्यक्रममा राखे ।चलचित्र बिकाश बोर्डका सदस्य नरेन्द्र महर्जनले हेटौंडा पनि चलचित्रको हबको रुपमा बिस्तार हुँदै गएको बताउँदै यसमा चलचित्र पत्रकारहरुको ठुलो योगदान रहेको बताए ।

कार्यक्रममा जिल्ला युवा समितिका अध्यक्ष संन्तोष चौलागाई, निर्माण ब्यबसायी संघका अध्यक्ष आनन्दराम पराजुली, उद्योग संघका अध्यक्ष नवराज अर्याल, नेपाल चलचित्र निर्देशक समाजका निबर्तमान उपाध्यक्ष सुमन दाहाल, नेपाल पत्रकार महासंघ प्रदेश ३ का महासचिव कृष्ण शारु मगर, जिल्ला अध्यक्ष हरी हुमगाईं लगाएयले कार्यक्रममा शुभकामना ब्यक्त गरे ।

कार्यक्रममा सम्मान ग्रहण पछि नायिका निता ढुगानाले हेटौडाले आफुलाई सम्झेर सम्मान गरेकोमा आभार व्यक्त गरिन ।कलाकै माध्यबाट जिल्ला चिनाई रहेका कलाकार शुसान्त कुमार श्रेष्ठले सम्मानबाट अझ दायित्व बढेको बताए ।

यस्तै कला पत्रकारितामा आफ्नो योगदानको गहकिलो मुल्यांकन गरी पुरस्कृत गरेकोमा आयोजक प्रति आभार ब्यक्त गर्दै पत्रकार राम कुमार एलनले कलम चलाउन उर्जा थपिएको छ भने ।अग्रज चलचित्र पत्रकार डब्बु क्षत्रीले चलचित्र पत्रकारितामा आफुले लामो समय कलम चलाएको स्मरण गर्दै यो सम्मानले अझ जिम्मेवारी थपिएको भनाई सो कार्यक्रममा बताए ।

चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघबीच सेयर बाँडफाँडमा सहमति

आन्दोलनरत चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघबीच सेयर बाँडफाँडमा सहमति जुटेको छ । पटकपटकको वार्ता र छलफलपछि आइतबारअन्तत हलवालासँग सम्झौता गरेर आन्दोलन फिर्ता लिएका छन् ।

सहमतिअनुसार अब पहिलो साता निर्माता र प्रदर्शकले ग्रस कलेक्सनको ५०–५० प्रतिशत सेयर बाँडफाँड गर्नेछन् । “अब चलचित्र प्रदर्शनमा आएको पहिलो साता निर्माता र प्रदर्शकले ५०–५० प्रतिशत सेयर बाँडफाँड गर्ने हामीबीच सहमति भएको छ,” चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले भने । निर्माता संघले जेठ २ गतेसम्म आफूले अघि सारेका माग पूरा नभए ४ गतेबाट हलमा कुनै पनि चलचित्र प्रदर्शन नगर्ने चेतावनी दिएको थियो ।

अधिकारीका अनुसार दोस्रो सातामा निर्माताले ग्रस कलेक्सनको ४५ र प्रदर्शकले ५५ प्रतिशत, तेस्रो सातामा निर्माताले ४० र प्रदर्शकले ६० प्रतिशत सेयर पाउनेछन् भने चौथो हप्तादेखि निर्माताले ३५ प्रतिशत र प्रदर्शकले ६५ प्रतिशत सेयर पाउनेछन् ।

सिंगल थिएटरमा भने प्रदर्शनको पहिलो सातादेखि अन्तिम सातासम्म दुवै पक्षले ५०–५० प्रतिशत सेयर पाउनेछन् । “सिंगल थिएटरमा फष्ट टु इन्ड दुवै पक्षले ५०–५० प्रतिशत सेयर पाउने सहमति भएको छ,” अध्यक्ष अधिकारीले भने । सिंगल थिएटरमा यसअघि पनि सेयर निर्माता र प्रदर्शक दुवै पक्षले ५०–५० प्रतिशत नै सेयर बाँडफाँड गर्दै आएका थिए ।

यसअघि निर्माताले प्रदर्शनको पहिलो साता ५० प्रतिशत पाए पनि दोस्रो साता ४२.५ प्रतिशत, तेस्रो साता ३७ प्रतिशत र चौथो साताबाट ३० प्रतिशत सेयर पाउँदै आएका थिए । यस्तै आइतबार भएको सहमतिअनुसार निर्माता संघ र चलचित्र संघबीच दुई सातासम्म हलमा निःशुल्क ट्रेलर देखाउने, पोस्टर, ब्यानर र स्ट्यान्डी राख्ने पनि सहमति भएको छ ।

निर्माता संघले २०६० साउन २३ गते चलचित्र संघसँग भएको सम्झौता पुनरावलोकन गरेको हो । “अहिले भएको सहमति पनि दुई वर्षसम्मका लागि मात्रै हो,” निर्माता संघका अध्यक्ष अधिकारीले भने, “दुई वर्षपछि पुनः अहिले भएको सहमति पुनरावलोकन गरिनेछ । दिनदिनै भित्रिने नयाँ प्रविधि र त्यसको प्रयोग गर्दै जाने हो । त्यसलाई हामी सबैले आत्मसात गर्दै जानुपर्छ ।”

सानो बजारमा ठूलो लगानी गरेर चलचित्र बनाउनुपर्ने तर चलचित्र प्रदर्शकहरुले उचित बाँडफाँड नहुँदा निर्माताहरु मारमा परेको गुनासो गर्दै आएका थिए ।
राम्रो चलचित्र बनाए पनि बजेट अभावमा पर्याप्त प्रचार गर्न नसक्दा चलचित्रहरु इनिसियल नचल्ने र दोस्रो–तेस्रो हप्ता चल्दा निर्मातालाई खासै फाइदा नहुने गरेको निर्माताहरुको गुनासो थियो ।

विशेगागरी ‘माउथ पब्लिसिटी’ बाट चल्ने चलचित्रहरु यसको मारमा पर्दै आएका थिए ।यसअघि निर्माताले दोस्रो र तेस्रो साता क्रमशः ४२.५ र ३७ प्रतिशत सेयर पाउँथे । अब नयाँ सहमतिअनुसार ४५ र ४० प्रतिशत पाउनेछन् ।

यस्तै, हलहरुले नेपाली चलचित्रको ट्रेलरसमेत बिना पैसा नबजाउने गरेको निर्माताहरुको गुनासो थियो । हलहरुले हिन्दी र अंग्रेजी चलचित्रको ट्रेलर बिनापैसा महिनौं अगाडिदेखि हलमा बजाए पनि नेपाली चलचित्रको भने नबजाएको निर्माताहरुको भनाइ रहँदै आएको थियो । प्रत्येक शोमा लाइसेन्स चार्ज भनेर चार सय लिने हलहरुले कर्मचारी र आफन्तका लागि भनेर दुई सयभन्दा धेरै पास लिने गरेको निर्माताहरु गुनासो गर्दै आएका छन् ।

चलचित्र ‘शत्रु’ गतेले यसरी मनायो ५१ औ दिन (भिडियो)

चैत्र ९ गते बाट प्रदर्शनमा आएको सफल चलचित्र ‘शत्रु’ गतेले प्रदर्शनको ५१ औ दिन पार गरेको उपलक्ष्यमा खुशियाली साटेको छ । निर्माण पक्षले रात्रि भोजको आयोजना गर्दै फिल्म टिम , फिल्मकर्मी र मिडियाकर्मीसँग खुशियाली साटेको हो । इमाडोलमा रहेको इन्द्रेणी ब्यान्केटमा आयोजित कार्यक्रममा फिल्म युनिटले सहयोगीलाई मायाको चिनो समेत प्रदान गरेको थियो । फिल्मले प्रदर्शनको ५१ औ दिन पार गर्दै गर्दा यसमा जोडिएका सबैलाई मह सञ्चारका म अर्थात मदनकृष्ण श्रेष्ठले धन्यवाद दिए ।

‘फिल्मलाई राम्रो बनाउन लाग्ने टिमलाई धन्यवाद’ मदनले उपस्थितलाई सम्बोधन गर्दै भने ‘फिल्म दर्शकको टेस्ट अनुसार निर्माण गरिएछ , आउदा दिनमा पनि दर्शककै रुची अनुसारको फिल्म बनाउने कोसिस गर्नेछौ ।’ यसै गरि फिल्मका निर्मातासँगै अभिनेता समेत रहेका महका ह अर्थात हरिवंश आचार्यले पनि फिल्म सफल बनाउने सम्पूर्ण सहयोगीमा धन्यवाद दिए । ‘जुन सोच अनुसार हामीले काम थालेका थियौ , त्यो आज पुरा भएको छ’ हरिवंश थप्छन ‘अब हाम्रो ब्यानरले आउदा दिनमा अझै राम्रो फिल्म दर्शक समक्ष ल्याउनेछ ।’

फिल्मलाई ‘जात्रा’ डेब्यु निर्देशक प्रदीप भट्टाराईले निर्देशन गरेका छन् । फिल्ममा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , किरण केसी , दीपकराज गिरी , दीपाश्री निरौला , पल शाह , प्रियंका कार्की , आँचल शर्मा , राजाराम पौडेल , शिवहरी पौडेल , बसुन्धरा भुषाल , रमेश रंजन झा लगायतको अभिनय रहेको छ । फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । ‘हामीलाई शत्रु गते बनाउन सत्र वर्ष लाग्यो तर अब यसलाई हामी हरेक वर्ष निरन्तरता दिनेछौ’ किरणले भने । उनका अनुसार अब मह सञ्चारसँगको प्रस्तुति फिल्म निर्माण हुनेछन ।

कार्यक्रममा अभिनेता शिव श्रेष्ठ , दीलिप रायमाझी , केशव भट्टराई , संगीतकार शम्भुजित बास्कोटा , सञ्चारकर्मी रवी लामिछाने , नरेश भट्टराई , चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटा , चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय , चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी लगायत फिल्म ‘शत्रु गते’ का कलाकार तथा प्राविधिकको उपस्थिति रहेको थियो ।

फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , स्व.यसोदा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

चलचित्र ‘बोबी’को नर्वेमा भव्य प्रिमियर

नेपाली सिनेमाको विश्वबजार फराकिलो पार्ने क्रममा मिलन चाम्स निर्देशित सिनेमा ‘बोबी’ पहिलो पटक नर्वेमा प्रिमियर गरिएको छ । जहाँ हलिउड सिनेमा मात्र प्रिमियर हुन्थ्ये ।

नर्वेको सुन्दर नगरी ओस्लोको भीका भिक्टोरिया हलमा सम्पन्न प्रिमियरमा ४ सय बढी दर्शकको उपस्थिति रह्यो । निर्देशक चाम्सका अनुसार सबटाइटलसहितको सिनेमा हेर्न नर्वे, इटाली, माल्टा, युके लगायत देशका नेपालीसँगै विदेशी पनि उपस्थित थिए । सफल प्रिमियर पश्चात चाम्सले नेपाली सिनेमा बजारको अर्को ढोका खोल्न सफल भएकोमा खुसी व्यक्त गरे ।

प्रिमियरमा नर्वेको कल्चरल डिपार्टमेन्ट प्रमुख थारिया ग्लोपनको पनि सहभागिता थियो ।सत्यकथामा आधारित सिनेमामा रियल जोडी कविता गुरुङ र उमेश थापाको मुख्य भूमिका छ ।

दुबै जनाको प्रेम, संघर्ष र सफलताको कथा ‘बोबी’ भित्र छ । विवाहित कविता र उमेश नर्वेका एनआरएन हुन् । पेसाले उमेश इन्जीनियर हुन्, भने कविता होटल म्यानेजर हुन् । सिनेमामा यी दुईका अलावा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय छ ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’मा संचारकर्मी नरेश भट्टराईको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन र  ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।

बलिउड अभिनेत्री करिष्मा कपुरद्धारा मेरिगोल्ड (सयपत्री) ज्वेलर्सको समुद्घाटन

नेपालको सबैभन्दा पुरानो, लोकप्रिय तथा चिरपरिचित गहना पसल तथा शोरुम मेरिगोल्ड(सयपत्री) ज्वेलर्सले दरबारमार्गमा रहेको नयाँ शोरुम भव्यरुपमा समुद्घाटन गरेको छ । मेरिगोल्डको दरबारमार्गमा रहेको नयाँ शोरुम बलिउडकी चर्चित अभिनेत्री करिष्मा कपुरले एक कार्यक्रमका समुद्घाटन बीच गर्नुभएको हो ।

नेपाली गहनाहरुको प्रबद्र्धन र भारतीय बजारमा बिस्तार गर्न अभिनेत्री कपुरको आगमनले सहयोग पुग्ने मेरिगोल्ड ज्वेलर्सको विश्वास छ ।मेरिगोल्ड ज्वेलर्स हाल नेपालमा नै विश्वासिलो, भरपर्दो र चिरपरिचित गहना पसल तथा शोरुमको रुपमा ग्राहकहरुमाझ लोकप्रिय रहेको छ । कम्पनीले नेपाली परम्परागत गहनाहरु, विदेशी डिजाइनका गहनाहरु, नेपाली र विदेशी समिश्रण भएका फ्यूजन डिजाइनका गहनाहरु निर्माण तथा बिक्री गरिरहेको छ ।

नयाँ शोरुम उद्घाटनको अवसर पारेर मेरिगोल्ड ज्वेलर्सका संचालिक ज्योत्सना श्रेष्ठले कम्पनीले उच्च गुणस्तरका गहनाहरु बिक्री गरिरहेको र आगामी दिनमा नेपाली परम्परागत गहनाहरुलाई विश्व बजारमा लैजाने योजनामा रहेको बताउनुभयो ।

‘बलिउड कलाकारहरुको आगमनले नेपाली परम्परागत गहनाहरुको भारतीय बजारमा पनि प्रबद्र्धन र माग बढ्ने अपेक्षा छ,’ उहाँले भन्नुभयो ।
मेरिगोल्ड ज्वेलर्सकी संचालिक श्रेष्ठले बलिउड कलाकार आउँदा नेपालको पर्यटन तथा संस्कृतीको प्रचार प्रसार हुने र नेपाली गहनाहरुको भारतीय बजारमा माग बढ्ने अपेक्षा गरेको बताउनुभयो ।

तरकारीवाली’ अभिनित चलचित्र ‘लम्फु’को प्रचार युनिट चितवनमा (फोटो फिचर )

नारायण ढुंगाना,
चितवन १९ वैशाख । सामाजिक सञ्जालमा भाईरल भएसँगै ‘तरकारीवाली’का नामले परिचित गोरखाकी कुसुम श्रेष्ठ अभिनित चलचित्र लम्फुको रिलिज डेट नजिकिएसँगै निर्माण यूनिटले प्रचार अभियानलाई तिब्र पारेको छ ।

हेटौडामा प्रचारात्मक कार्यक्रम सकेर आएको निर्माण युनिटले आज चितवनमा पत्रकार सम्मेलन गरी चलचित्रको बारेमा जानकारी दिएको छ ।

कार्यक्रममा कक्षा १२ को परीक्षा दिएर पत्रकार सम्मलेनमा सहभागि भएकी कलाकार कुशुस श्रेष्ठ(तरकारीवाली)ले थोरै रोल भएपनि सुहाउने भूमिकामा अभिनय गरेको भन्दै आएको पारिश्रमिक बालबालिकालाई सहयोग गर्ने बताईन् । उक्त चलचित्र यही यही वैशाख २८ बाट प्रदर्शनमा आउँदै छ ।

पत्रकार सम्मेलनमा उनका काका गोपीलाल श्रेष्ठले पठ्न नपाएका बालबालिकाका लागि सहयोग गरेर सामाजिक दायित्व निर्वाह गर्न छोरीले चलचित्रमा अभिनय गरेको भन्दै खुसी व्यक्ति गरे ।

चलचित्रका निर्देशक गोपालचन्द्र लामिछानेले चलचित्र लम्फु नेपाली माटो सुहाउँदो सामाजिक परिभेषको चलचित्र भएको दावी गर्दै भने, ‘नाम लम्फु भएपनि चलचित्र सम्फु छ ।’

चार वर्ष अघि केही दृष्य छायाँकन भएर रोकिएको चलचित्रमा पुराना केही सिन भएपनि पटकथा भने फरक रहेको निर्माण युनिटले जनाएको छ। चलचित्रका निर्माता शक्तिबल्लभ घोरासैनीले करिव रु १ करोडमा चलचित्र निर्माण गरेको बताए ।

उनले भने, ‘सामान्य विषयवस्तुमा बनेको सामान्य फिल्म हो ‘लम्फ’, स्थानिय विषय समेटेकाले नेपाली चलचित्र उद्योगको विकासमा योगदान दिन्छ ।’ लम्फु, कविर खड्का र कुसुम श्रेष्ठ(तरकारीवाली)को डेब्यू चलचित्र हो ।चलचित्रमा सलोन बस्नेत, मरिष्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई लगायतकोपनि अभिनय छ ।

प्रचार प्रसारको लागि “डमरूको डण्डिबियो” चितवनमा

सुशिल पन्त, चैत्र २९,
सरकारले गत बर्ष मात्रै डण्डीबियोलाई राष्ट्रिय खेलबाट हटाएर भलिबललाई राष्ट्रिय खेल बनाएको थियो । सरकारको उक्त निर्णयको कतै स्वागत भयो त कतै असन्तुष्टीको आवाज पनि उठ्यो । त्यसको ठिक १ बर्ष पछी डण्डीबियोकै कथा बस्तुमा आधारीत चलचित्र डमरूको डण्डिबियो निर्माण भएको छ । जसले राज्यबाटै एककिसीमले अपहेलित जस्तै बनेको डण्डीवियो खेलको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरीएको छ ।

चलचित्र आँउदो बर्ष २०७५ को बैशाख २१ गतेबाट देशभर एक साथ प्रदर्शन हुँदैछ । प्रदर्शन मिती नजिकिदै गर्दा यतीबेला चलचित्र युनिट प्रचार प्रसारमा ब्यस्त रहेको छ । यसै क्रममा मोफसलको प्रचार प्रसारमा निस्किएको चलचित्र युनिट आज चितवन आईपुगेको छ । चलचित्रका निर्माता बिनोद गुरुङ, लेखक तथा नायक खगेन्द्र लामिछाने, कलाकार बुद्दी तामाङ, लक्ष्मी बर्देवा लगाएतको कलाकार सहित चितवन आईपुगेको चलचित्र युनिटले बिहीवार पत्रकार सम्मेलन सम्पन्न गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका लेखक तथा नायक खगेन्द्र लामिछानेले चलचित्र एउटा फेमली स्पोर्टस ड्रामा जनरामा निर्माण भएको बताउनुभयो । डण्डिबियो नेपालको पुरानो खेल भए पनि अहिले यो खेल लोप हुँदै गएकाले यसलाई पुनर्जा्गित गराउन चलचित्र निर्माण गरिएको पत्रकार सम्मेलन मार्फत लामिछानेले जानकारी गराउनुभयो । सानोमा डन्डिबियो खुब खेलिन्थ्यो बाल्यकाल सम्झदै लामिछानेले भन्नुभयो तर उबेला नियम थाहा थिएन अहिले नियम बुझेर खेल्दा झनै रमाइलो हुँदो रहेछ । चलचित्रमा आफ्नो भूमिका डमरू नामक एक युवकको भएको लामिछानेले बताउनुभयो जो डण्डिबियो खेललाई पुनर्जा्गित गराउन संघर्ष गर्छ ।

यस्तै चलचित्रका अर्का कलाकार बुद्दी तामाङले चलचित्र हेरुन्जेल दर्शकले मनोरन्जन लिने बताउनुभयो । चलचित्र राम्रो बनेको छ, हेरुन्जेल दिक्क लाग्दैन, तामाङले भन्नुभयो । चलचित्रमा आफ्नो भूमिकाबारे भने तामाङले खास्सै खुलाउनुभएन । मलाई दर्शकले अहिलेसम्म कमेडी भूमिकामा देख्नुभएको छ, तर यो चलचित्रमा कस्तो भूमिका छ भनेर थाहा पाउन भने चलचित्र नै हेर्नुपर्ने भन्दै दर्शकलाई हलसम्म पुग्न निम्ता पनि गर्नुभयो ।

निर्माता बिनोद गुरुङले चलचित्रको ७५ प्रतिशत सुटिङ लम्जुङको घले गाँउ तथा २५ प्रतिशत सुटिङ काठमाण्डौंमा गरिएको बताउनुभयो । सुरुमा ७०, ८० लाख लगानी अनुमान गरेर निर्माण सुरु गरिए पनि बनाउदै जाँदा लागानी करोड भन्दा माथि पुगेको जानाकारी दिनुभयो । चलचित्रमा कुनै पनि किसिमको कम्प्रमाईज नगरिएकाले लगानी बढेको निर्माता गुरुङले बताउनुभयो । चलचित्रका निर्देशक छेतन गुरुङ पोस्ट प्रोडक्सनमा ब्यस्त रहेको र नायिका मेनुका प्रधानको खुट्टामा चोट लागेका कारण प्रचार प्रसारमा उपस्थित हुन नसकेको निर्माता गुरुङले जानाकारी दिनुभयो । बैशाख २१ गते नेपाल सहित अस्ट्रेलियामा पनि एक साथ प्रदर्शन हुने समेत निर्माता गुरुङले बताउनुभयो । चलचित्रकी कलाकार लक्ष्मी बर्देवाले चलचित्रमा आफ्नो भूमिका एउटा सामान्य गाँउको युवतीको रुपमा रहेको बताउनुभयो ।

यसैबिच पत्रकार सम्मेलन मार्फत पत्रकारहरुलाई चलचित्रको ट्रेलर समेत देखाइएको थियो । बैशाख २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा छेतन गुरुङको निर्देशन रहेको छ भने बिनोद गुरुङ र नोर्बु छिरिङ घलेको लगानी रहेको छ । चलचित्रको ट्रेलर तथा तिते पाती बोलको गीत युट्युबमा यसअघिनै सार्वजनिक भईसकेको छ ।

बहुप्रतिक्षित चलचित्र ‘लिलिबिली’ बाट सुन्दरी नायिका जसिता गुरुङको डेब्यू

बहुप्रतिक्षित चलचित्र ‘लिलिबिली’ यहि चैत्र ३० बाट प्रदर्शनमा आउँदैछ। प्रदर्शनको अन्तिम तयारीमा रहेको ‘लिलिबिली’को अहिले ठुलै चर्चा हुने गरेको छ । बिशेष गरेर युवा स्टार नायक प्रदीप खड्का हुनु, देश विदेशमा छायांकन गरिनु लगायतका कारणले पनि यस चलचित्रको चर्चा हुने गरेको छ ।

यसै चलचित्र मार्फत फिल्मी नगरीमा  सुन्दरी नायिका जसिता गुरुङले डेब्यू गर्दैछिन् । नपत्याउँदो पारामा जसिताका फ्यान हरेक दिन चौगुना भइरहेका छन् । सामाजिक सञ्जाल र सञ्चार माध्यममा ब्यक्त प्रतिक्रिया हेर्ने हो भने उनको फिल्म कहिले रिलिज हुन्छ र हलमा ओइरिने भनेर उनीहरु प्रतिक्षारत रहेको बुझ्न सकिन्छ । आखिर कसरी र किन बढिरहेका छन् जसिताका फ्यानहरु ? अनि उनीप्रति किन आकर्षित छ, फिल्म क्षेत्र ? हामी यही विषयमा केन्द्रीत हुने छौं ।

चलचित्र लिलीबिलीबाट नेपाली चलचित्र क्षेत्रमा ‘इन्ट्री’ मारेकी नायिका हुन् जसिता गुरुङ । सलक्क मिलेको ज्यान । बोल्ने आँखा । गोरो छाला । समग्रमा पर्फेक्ट व्यक्तित्व । मानौं उनी फिल्ममा नायिका हुन नै जन्मिएकी हुन् ।

यी सुन्दरीलाइ नेपली सिनेमा क्षेत्रले भर्खरै पाएको हो । तर यूकेले भने उनलाई केही समयअघि नै पाएर कलाकारको रुपमा अनुमोदन गरिसकेको छ । सपन इन्टरटेन्मेन्ट लिमिटेडले गरेको दोश्रो यू के डान्स अफमा १३ प्रतिष्पर्धीलाई उछिनेर जसिता विजेता बनेपछि उनको चर्चा समग्र युरोपमा भइरहेको छ । पोखराकी स्थायी बासिन्दा जसिता भूपू ब्रिटिश गोर्खा परिवारकी एक्ली छोरी हुन् । उनको बसाई बेलायतको विन्चेस्टरमा छ ।

उनी १२ बर्षमा टेक्दा टेक्दै परिवार सँगै यूके वसाई सरेकी हुन् । त्यसयता उनी यूके मै बस्दै आएकिछन् । सानैदेखि डान्स्मा रुची भएकी जसिता त्यसैवेलादेखि डान्स कम्पिटिसनहरुमा सहभगी हुन्थिन् । उनलाई त्यही नृत्यले नेपाली फिल्म क्षेत्रमा ल्याइपुर्यायो ।

सपन इन्टरटेन्मेन्ट लिमिटेडले गरेको दोश्रो ‘यूके डान्स अफ’ २०१७ मा संजोगबस निर्देशक मिलन चाम्ससँग उनको भेट भयो । र, आम दर्शकलाई जस्तै जसिताको नृत्यले मिलनलाई पनि मोहित बनायो । सबैलाई मोहनी लगाउने जसिता चलचित्र लिलीबिलीमा आबद्ध भएपछी त झन् उनको ‘इनोसेन्ट फेस’मा लठ पर्नेको संख्या बढेको बढै छ ।

लोकप्रिय अभिनेता प्रदीप खड्कासँग लिलीबिलीमा ‘स्क्रिन सेयर’ गरेपछि पनि जसिता धेरैकी प्रिय भएकि हुन सक्छिन् । जसिता र प्रदीपको ‘अन स्क्रीन रोमान्स’को झल्को बुझ्न लिलीबिलीको ‘ट्रेलर’ नै काफी छ । यसै फिल्मको ‘ट्रेलर’ र गीतले पनि प्रदीप र जसिताको रोमान्सलाई राम्रैसँग झल्काउँछ ।

गुडिया जस्तो फेस र बब्ली क्यारेकट उनलाई रुचाइनुको मुल कारण हो । प्राय नेपाली फिल्मले कैद गर्न नसकेका दृश्यहरू खिचेर छायाँकार सुदीप बरालले लिलीबिलीमा रोमांचकता थपेका छन् ।

निर्देशक मिलन चाम्स्को कमाण्डमा तयार भएको लिलीबिलीले दर्शकलाई कसरी बाँध्ने हो ? त्यसका लागि चैत्र ३० पर्खिनु पर्ला । तर, के कुरामा ढुक्क हुन सकिन्छ भने सुन्दरी अभिनेत्री जसिताको जादुले भने नेपाली फिल्म क्षेत्रलाई आकर्षित गरिरहन सक्छ ।

प्रदिप र जसिताको उपस्थितीमा ‘लिलिबिली’को जापानमा भव्य रेड कार्पेट प्रिमियर

यस बर्षको अन्तिम बहुप्रतिक्षित चलचित्र ‘लिलिबिली’को जापानमा भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ ।जापानको टोकियोस्थित नकानो जिरो हलमा सम्पन्न प्रिमियरमा अभिनेता प्रदीप खड्का, अभिनेत्री जसिता गुरुङ र निर्माता गोविन्द शाही उपस्थित थिए । प्रिमियरमा सिनेमा हेरे पश्चात दर्शकले राम्रो प्रतिक्रिया दिएको आयोजक डेस्टिनी क्रियसन जापानले जानकारी दियो ।

‘लिलिबिली’को दर्शक प्रतिक्रिया र उपस्थित संख्याले उत्साहित भएको आयोजकले आगामी दिनमा पनि नेपाली सिनेमाको शो गर्दै जाने लक्ष्य रहेको जानकारी दियो ।दर्शकबाट पाएको प्रतिक्रियाले अभिनेता प्रदिप खड्का पनि दंग छन् । प्रदिप खड्का र जसिता गुरुङआउने भनेकाले पनि दर्शकको उपस्थिती बाक्लो देखिएको थियो ।

उता निर्माता शाहीले जापानको दर्शक प्रतिक्रियाले उत्साहित बनाएको भन्दै खुसि व्यक्त गरे । ‘सबैले राम्रो सिनेमा हेर्न पाएको भन्दै बधाई दिनु भएको छ । आगामी दिनमा पनि यस्तै सिनेमा हेर्न पाइयोस् भन्ने आशा व्यक्त गर्नु भयो ।’ शाहीले भने । ‘हामी कसैको आशालाई निराशामा परिणत हुन् दिने छैनौँ । हामीले मिहिनेत गरेर राम्रो सिनेमा बनाएको थियौं । जसको नतिजा एकदमै सुखद मिलेको छ ।’

मिलन चाम्स निर्देशित यस चलचित्रमा प्रदिप र जसिता सगै प्रियंका कार्की, अनुपबिक्रम शाही र सविन श्रेष्ठको पनि अभिनय रहेको छ । फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ ।चलचित्र यहि चित्र ३० गते बाट नेपालमा प्रदर्शन हुदैछ ।’